जंगली हात्तीको आक्रमणबाट आमा-छोरीको मृत्यु

बर्दिया, ११ जेठ : बर्दियामा जंगली हात्तीको आक्रमणबाट आमा-छोरीको मृत्यु भएको छ ।

सोमबार राति ९ बजे गेरुवा गाउँपालिका वडा नम्बर १ सरखोल खचपुरकी ३७ वर्षीया चन्द्रा विक र उनकी ३ वर्षीया छोरी दिपिका विकमाथि हात्तीले आक्रमण गरेको थियो ।

आफ्नै घरमा बसिरहँदा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा जंगली हात्ती आएर आमा-छोरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूलाई हात्तीले आफ्नो सुडमा उठाएर घरबाट अन्दाजी ३० मिटर टाढा लगेर छाडेको प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।

त्यसक्रममा आमा चन्द्राको घटनास्थलमै मृत्यु भएको र छोरी गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । बालिकाको मंगलबार बिहान पौने ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.