ला लिगाको उपाधि एट्लेटिको मड्रिडलाई

काठमाडौं, ९ जेठ : एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो ।

भालाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे । भालाडोलिडका ओस्कार प्लानोले एक गोल गरे।

खेलमा सुरुवाती अग्रता भने भालाडोलिडले बनाएको थियो । ओस्कारले खेलको १८ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५७ औं मिनेटमा कोरेयाले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा सुआरेजले एकल प्रयासमा गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।

यस जितसँगै एट्लेटिकोले ३८ खेलमा ८६ अंक जोड्यो ।

रियल मड्रिडलाई २ अंकले पछि पार्दै एट्लेटिकोले उपाधि जितेको हो ।

दोस्रो स्थानको रियलले ८४ अंक जोड्यो ।

भालाडोलिड भने रेलिगेसनमा परेको छ । भालाडोलिडले ३८ खेलमा ३१ अंक जोड्यो ।

एट्लेटिकोले ७ वर्षपछि ला लिगाको उपाधि जितेको हो ।

पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो ।

एट्लेटिकोको यो ११ औं ला लिगा उपाधि हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.