संसद विघटनको प्रतिवाद गर्ने विपक्षी ५ दलको निर्णय

काठमाडौं, ८ जेठ : संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने जनाएका विपक्षी पाँच दल सर्वोच्च अदालत जाने तयारी गरेका छन् । शुक्रबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद सहितका नेताहरु संसद पुनःस्थापनाको मागसहित न्याय माग्दै सर्वोच्च जान लागेका हुन् ।

त्यसका लागि विपक्षी दलले आफ्ना सांसदहरुलाई नागरिकतासहित आइतबार १ बजे संसद भवनमा बोलाएका छन् ।  नेताहरुका अनुसार सके आइतबार नभए सोमवार सर्वोच्च अदालत जाने तयारी भएको छ ।

विपक्षी गठबन्धनले असंवैधानिक कदमको राजनीतिक र कानूनी रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीमा देउवाको दाबीमा साथ दिने १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘हिजो संसद विघटन प्रगिमनकारी कदम हो भनेर सडकबाट राम्रैसँग प्रतिवाद भयो र अदालतले पुनस्र्थापना पनि गर्‍यो । हामीलाई विश्वास छ, बहुमत सांसदको हस्ताक्षरसहित गइसकेपछि अदालतले अन्ततः फेरि लोकतन्त्रको पक्षमा फैसला गर्नेछ ।’

प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रपूवर्क देशलाई दुर्घटनातिर लगेको भन्दै उनले जनस्तरबाट प्रतिवाद गर्ने बताए । अहिले घोषणा भएको चुनाव बहिस्कार गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘यो निर्वाचन गर्नका लागि घोषणा गरिएको छैन । यो संविधानसम्मत छैन, त्यसैले यसको अर्थ पनि छैन ।’

हेर्नुहोस् संयुक्त प्रेस वक्तव्य

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.