बादललाई हराउँदै खिमलाल राष्ट्रियसभामा निर्वाचित
हेटौंडा, ६ जेठ : सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
आज भएको मतगणनामा खिमलालले ५०८८ मतभार ल्याएर विजयी भएका छन् भने बादल ४०१४ र कृष्ण तामाङले १३२ मत पाए ।
बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् ।
स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ ।
त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
