राष्ट्रियसभा उपनिर्वाचनमा ३३७ मत खस्यो, ९ अनुपस्थित

हेटौंडा, ६ जेठ : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ ।

प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा ३ सय ३७ मत खसेको छ । प्रदेश सांसद १ सय ९ जनामध्ये १ सय ५ मत मात्रै खस्यो । स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३८ मध्ये २ सय ३२ मत खसेका निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

मतदान सकिएपछि केहीबेरमा आवश्यक प्रक्रिया पूरा गरी मतगणना थाल्ने तयारी गरिएको छ । आजै नतिजा सार्वजनिक हुने छ । उपनिर्वाचनमा एमालेकै दुई जनासहित तीन जना उम्मेदवार चुनावी मैदानमा छन् ।

वाग्मती प्रदेशबाट चयन हुने एक जना राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा नेकपा एमालेबाट रामबहादुर थापा बादल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

१४४ मत भार रहेको विवेकशील साझा पार्टीका तीन जना जनप्रतिनिधिले ‘नो भोट’ भन्दै कसैलाई पनि मतदान गरेनन् ।

राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये ९ जना मतदानमा अनुपस्थित रहे ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।

बिहीबार नै मतगणना गर्ने र साँझसम्म नतिजा आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा उपनिर्वाचन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.