प्रधानमन्त्री ओली र नेता नेपालको भेटवार्ता सुरु
काठमाडौं, ३० बैशाख : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली बूढानीलकण्ठ, चपली हाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा पुगेका छन् । पार्टीभित्र देखिएको पछिल्लाे विवाद समाधानमा छलफल हुने बताइएको छ ।
आफूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि सामूहिक राजीनामा दिने तयारी गरेपछि ओलीले टेलिफोन गरी नेपालसँग भेटको प्रस्ताव गरेका हुन् । त्यसअघि उनले स्थायी कमिटीको आकस्मिक बैठक राखेर नेता नेपालसहित चार नेतामाथि गरिएको कारवाही फुकुवा गरेका थिए ।
तर नेपाल पक्षले भने कारवाही फुकुवाले मात्रै नरोकिने संकेत दिएको छ। सहमतिका लागि पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने अडानबाट पछि हट्न नसकिने निश्कर्ष नेपाल पक्षले निकालेको थियो ।
सामूहिक राजीनामाका सन्दर्भमा नेता नेपालले बिहीबार बिहान केही कानुन व्यवसायीसँग पनि परामर्श गरेका थिए । उनीहरुले राजीनामा भन्दा पनि मध्यमार्गी विकल्प खोजेर अघि बढ्न सुझाएका छन् ।
बिहीबार एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो । बिहीबार नै नेता नेपालसँग ओली पक्षका नेता विष्णु पौडेलले भेटवार्ता गरेका थिए ।
