उपत्यकामा आजदेखि जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं, ३० बैशाख : काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले सो निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार यसपालि निषेधाज्ञामा बिहान १० बजेसम्म अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुनेछन् । मानिसकाे भीडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।

साथै सार्वजनिक र निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।
विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।
बुधबार राति १२ बजेदेखि यसअघि तोकिएको निषेधाज्ञाको समयावधि सकिएकाले थप दुई हप्ता निषेधाज्ञा जारी गरिएको हो ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो । निषेधाज्ञा जारी रहेकै समयमा कोरोना संक्रमणको दर नघटेपछि पुनः दुई साता थप गरिएको हो ।
