गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ नियुक्त
पोखरा, २९ बैशाख : पृथ्वी सुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् ।
नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरे पनि उनको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको रूपमा गुरूङलाई पुनः नियुक्त गरेकी हुन् ।
संविधानको धारा १६८(३) अनुसार प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
बुधबार राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गरेपछि प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी नपुग्ने निश्कर्ष निकालेको हो ।
कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रियजनमोर्चाले समर्थन गरेको पत्र पनि प्रदेश प्रमुखकहाँ बुझाएका थिए।
६० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ३१ मत चाहिन्छ । यी चार दलसँग ३१ मत थियो ।
तर जनमोर्चाका दुई सांसदले भने आफूहरूले कांग्रेस गठबन्धनलाई समर्थन नगर्ने घोषणा गरेका थिए ।
तर कांग्रेस सहितका दलले भने अहिले राजनीतिक दलहरूको केन्द्रीय समितिले समर्थन गरेको निर्णय भए सरकार गठन गर्न पर्याप्त हुने तर ३० दिनभित्र विश्वासको मत भने पुग्ने उनीहरूको धारणा थियो ।
नेपालीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेपछि भनेका थिए- ‘संसदका पाँच दलमध्ये हामीसँग चारदलको समर्थन छ । बहुमत देखाउने प्रदेश प्रमुखकोमा होइन संसदमा हो जो हामीले एक महिनाभित्र विश्वासकोमत लिने संवैधानकि व्यवस्था अनुसार बहुमत सिद्ध गर्छौं,’ उनले भने, ‘प्रदेश प्रमुखले मलाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्छ ।’
गुरुङ वैशाख २६ मा पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै बहुमतको सरकार बनाउन भन्दै प्रदेश प्रमुखले आजसम्मको समय दिएकी थिइन् ।
राजीनामा दिँदै गुरुङले काम गर्ने वातावरण नभएकाले पदबाट राजीनामा दिनुपरेको बताएका थिए ।
