काठमाडौंका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय
काठमाडौं, २८ बैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।
मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितहरूको चापलाई मध्यनजर गरेर सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउने निर्णय भएको जानकारी दिए ।
साथै निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिए पनि कति अस्पतालले त्योभन्दा धेरै बेडमा कोभिडको उपचार गरिरहेको उनले बताए ।
अर्यालले संक्रमितको संख्या ह्वात्तै बढेका कारण अक्सिजनको अभाव रहेको भन्दै अक्सिजन उत्पादन नबढाएसम्म त्यो चुनौती कायम रहने जनाए । उनले काठमाडौंमा भएको उद्योगहरूबाट ८ हजार र अस्पतालहरूबाट २ हजार गरी दश हजार सिलिन्डर उत्पादन हुने तर माग भने करिब १५ हजार सिलिन्डर रहेको बताए । त्यसका लागि लिक्विड अक्सिजन उत्पादन बढाउन भारत सरकारसँग कुरा भइरहेको अर्यालले जनाए ।
उनले केही समयभित्रै टिचिङ अस्पतालमा लिक्विड अक्सिजन हाल्ने काम सकिने पनि बताए । काठमाडौंमा अहिले टेकु अस्पताल र ट्रमा सेन्टरमा लिक्विड अक्सिजन रहेको उनले जनाए ।
यो मात्रामा अक्सिजन चाहिन्छ भन्ने अनुमान थिएन
मन्त्रालयका सचिव अर्यालले यो मात्रामा अक्सिजन आवश्यक पर्छ भन्ने अनुमान नै नगरेको बताए ।
‘अघिल्लो वेभमा यो लेभलको अक्सिजन आवश्यक नभएकाले यहाँका उद्योगले शत प्रतिशत क्षमतामा काम गर्दा पुग्छ भन्ने अनुमान थियो, तर भारतबाट ल्याउनुपर्ने नै देखिएको छ’ उनले भने ।
महामारीको समयमा स्वास्थ्य सेवा प्रवाह गर्ने कसैले पनि आफ्नो कर्तव्य भुल्न नहुने भन्दै सचिव अर्यालले कसैले पनि हात उठाउन नपाइने बताए । ‘कसैले पनि हात उठाउन पाइँदैन । सम्भव भएसम्म सबै प्रयास गर्नुपर्छ’ उनले भने ।
उनले निजी अस्पतालले पनि अब वैकल्पिक अक्सिजनको व्यवस्था गर्नुपर्ने र त्यसमा लगानी गर्नुपर्ने बताए ।
