चीनको नयाँ जनसंख्या १ अर्ब ४१ करोड २० लाख

बेइजिङ, २८ बैशाख : चीनले मंगलबार गत वर्ष गरिएको जनगणनाको तथ्यांक सार्वजनिक गरेको छ ।

चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार गत वर्ष चीनको जनसंख्या १ अर्ब ४१ करोड २० लाख पुगेको छ । यसअघि सन् २०२० मा चिनियाँ जनसंख्या घटेको भन्दै केही रिपोर्टहरू आए पनि तथ्यांक विभागले  २०२० मा पनि जनसंख्या बढेको जनाएको छ ।

सन् २०१० मा गरिएको चीनको छैठौं राष्ट्रिय जनगणनाभन्दा अहिले चिनियाँ जनसंख्या ५.३८ प्रतिशतले बढेको छ । यो दशकको वार्षिक वृद्धिदर ०.५३ प्रतिशत रहेको छ । सन् २००० देखि २०१० मा चिनियाँ जनसंख्या वार्षिक रूपमा ०.५७ प्रतिशतले बढेको थियो । केही दम्पतीहरूले बच्चा नजन्माउने क्रम सुरू भएकाले वार्षिक वृद्धिदर घटेको हो ।

चीनले ३१ प्रान्त, केन्द्र सरकारमातहत रहेका स्वशासित क्षेत्र र नगरपालिकाको जनसंख्यालाई राष्ट्रिय जनगणनामा समेट्ने गरेको छ । हङकङ, मकाउ र ताइवानको जनसंख्या यसमा समावेश हुँदैन ।

विभागले गत वर्ष चीनमा कति बच्चा जन्मिए भन्ने विवरण दिएको छैन । तर २०१९ मा भने १ करोड ४६ लाख  बच्चा जन्मिएका थिए । यो संख्या सन् १९६१ पछिकै सबैभन्दा न्यून जन्मदर हो ।

नयाँ जनगणनाअनुसार चीनमा १४ वर्षमुनिका बच्चाहरूको संख्या बढेर कूल जनसंख्याको १७.९५ प्रतिशत पुगेको छ भने १५-५९ वर्षका मानिसको संख्या सन् २०१० भन्दा ६.७९ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.