ओलीलाई माधव नेपालको ६ बुँदे पत्र, नमाने सामूहिक राजीनामा

काठमाडौं, २७ बैशाख : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको चेतावनी छ ।

सहमतिको प्रयासमा आइतबार भएको वार्ता असफल भएपछि नेपाल समूहको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो ।

बैठक लगत्तै वरिष्ठ नेता नेपालले २३ फागुनयता भएका कमजोरी औंल्याउँदै अध्यक्ष ओलीलाई पत्र नै पठाएका छन् र पार्टी एकता कायमै राख्न नेपालले आग्रह गरेका छन् ।

पत्रमा अदालतको फैसला विपरीत महाधिवेशन आयोजक कमिटी गठन, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी खारेज, ३० सांसदलाई स्पष्टीकरण पत्र र चार जनालाई कारबाही गरिनुु गल्ती भएको औंल्याइएको छ । ओलीबाट भएका गल्तीहरु सच्याउन आग्रह गर्दा त्यसको सुनुवाइ नभएको पनि नेपालले पत्रमा उल्लेख गरेका छन् ।

विश्वासको मत लिने सन्दर्भमा पनि अन्य दलहरुसँग छलफल गर्ने, तर आफ्नै पार्टीभित्र भने शत्रुवत् व्यवहार गरिएको नेता नेपालको गुनासो छ । आइतबार प्रधानमन्त्री ओलीले जारी गरेको अपीलप्रति नेता नेपालले आपत्ति जनाएका छन् । ‘तपाइँले आफ्नाे पार्टीको सिद्धान्त, विधान र नीति विरोधी क्रियाकलापहरुमा पर्दा हाल्न अरुमाथि प्रहार गर्नुभएको छ’, वक्तव्यमा उल्लेख छ ।

पत्रमा उल्लिखित ६ सर्त :

  • १) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनु पूर्वको अर्थात् जेठ २ गतेको स्थितिमा पार्टी, जनसङ्गठन र पेसागत गठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने।
  • २) नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने ।
  • ३) पार्टीलाई विधि, विधान र पद्धति अनुरूप सञ्चालन गर्ने ।
  • ४) पार्टीमा उत्पन्न अन्तर्विरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एक अर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।
  • ५) सरकार र पार्टीको बिचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरि हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।
  • ६) उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने ।

‘हाम्रा जायज आवाजलाई बेवास्ता गरियो भने तपाईँ पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ,’ उनले भनेका छन्, ‘त्यस्तो स्थितिमा हामी देश र जनताको सर्वोपरी हित तथा पार्टी र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभाको सदस्य नै त्याग गर्ने लगायतका जस्तोसुकै पाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ। यसका लागि पनि जिम्मेवार तपाईँ नै हुनुहुनेछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.