उपत्यकामा ३११३ सहित थप ८४१८ जनामा संक्रमण, ३३७० जना संक्रमणमुक्त

काठमाडौं, २५ बैशाख : पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो ।

उपत्यकामा आज ३ हजार ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंका २ हजार २७०, ललितपुरका ४६२ र भक्तपुरका ३८१ संक्रमित छन् ।

सक्रिय संक्रमितको संख्या काठमाडौंमा २६ हजार ४२६ पुगको छ भने ललितपुर र भक्तपुरमा यो संख्या क्रमशः ५ हजार ७१२ र ३ हजार ५४० रहेको छ ।

संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा लगाइएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा ८६१, सुर्खेतमा ५९७, बाँकेमा ५५५, कास्कीमा २८५, झापामा २७६, मोरङमा २५४, दाङमा १८९ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी सुनसरीमा १५७, मकवानपुरमा १३४, चितवनमा १२५, धनुषामा ११६, बर्दियामा ११३, बैतडीमा १११ तथा पर्सा र सिन्धुलीमा १०७/१०७ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ भने कुल संक्रमित ३ लाख ८५ हजार ८९० जना पुगेका छन् । यस्तै मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६३२ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै ५ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ७५८ जना संक्रमितको आईसीयू र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा मृतकको कुल संख्या ३६३२ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.