कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा
टोकियो, २५ बैशाख : कोरोना संक्रमण थप फैलिएपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।
जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्ध मे महिनाको अन्त्यसम्म लागू हुने निर्णय गरेको छ ।
टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा देशका विभिन्न क्षेत्रमा आपतकाल लागू गरिएको हो । यो अवस्थाले तोकिएको समयमा टोकियो ओलम्पिक हुने नहुने अझ बढी शंका उत्पन्न गराएको छ ।
प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन् । टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले देशको आपतकालीन अवस्थामा ओलम्पिक आइजना गर्न गाह्रो हुने बताएका छन् ।
जापानका प्रमुख शहरहरूमा कोरोना संक्रमणको दर उच्च रहेको छ भने अस्पतालहरूमा बिरामीहरूको चाप बढेको छ ।
अहिले बार, रेष्टुरेन्ट सिनेमाघर पार्लरहरू बन्द गरिएका छन् । टोकियो ओलम्पिकको सय दिनको काउन्टडाउन शुरू भएको छ। जुलाई २३ बाट ओलम्पिक शुरू गर्ने जापानको तयारी छ ।
कोरोना महामारीकै कारण २०२० मा ओलम्पिक स्थगित गरी २०२१ जुलाईमा आयोजना गर्नेगरी सारिएको थियो । ओलम्पिक आयोजना भए २०० देशका १० हजार भन्दा बढी खेलाडीहरूले भाग लिनेछन् ।
