अख्तियार पूर्वप्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं, २४ बैशाख : बालुवाटार जग्गा प्रकारणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले केही दिनअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिटसमेत दायर गरेका थिए ।
उनलाई सर्वोच्चले आज पाँच लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्नेतलाई छाड्न आदेश दिएको छ ।
तत्कालीन भौतिक पूर्वाधार सचिव बहाल रहेका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजान टिप्पणी उठाएकाले उनीविरुद्ध विशेष अदालतमा मुद्दा परेको थियो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको घटनामा संलग्नको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तर बस्न्यातले आफ्नो उमेर ६९ वर्ष पुगेको, मुटुको बिरामी रहेको र कोरोना संक्रमण पनि भएकाले मानवीय दृष्टिले थुनामुक्त गर्न आदेश माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
सर्वोच्चका दुई न्यायाधीशको इजलासले बस्न्यातलाई यस अवस्थामा थुनामा राख्नु मानवीय दृष्टिले अनुति हुनुका साथै तत्काल प्राप्त प्रमाणका रोहमा बेमुनासिव र अनुपयुक्त देखिएको भन्दै थुनामा राख्ने विशेष अदालतको २०७७ मंसिर २८ गतेको आदेश बेरीतको देखिएको भन्दै बदर गरिदिएको हो ।
