राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
काठमाडौं, २४ बैशाख : आउँदो जेठ ६ गते हुने राष्ट्रियसभामा रिक्त एक पदका लागि उपनिर्वाचनको उमेदवारी मनोनयनपत्र आज दर्ता हुँदै छ । निवार्चन आयोगले उमेदवारी दर्ताका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्मको समय तोकेको छ । उपनिर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दल दर्ता गराएका छन् ।
जसका लागि प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र यादव–बाबुराम भट्टराई समूह) र एमालेको माधवकुमार नेपाल समूहले डा. खिमलाल देवकोटालाई साझा उमेदवार बनाउने निर्णय गरिसकेका छन् । संघीयताविद् देवकोटा साझा उमेदवार बन्ने भएपछि एमालेले भने अहिलेसम्म उमेदवार तय गर्न सकेको छैन ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयताविज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् ।
देवकोटा उम्मेदवारी दर्ताका लागि शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
यसअघि नै प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादललाई उमेदवार बनाउने घोषणा गरेका थिए । हिजो बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उमेदवार तय गर्न सकेन । नेताहरु अझै छलफलमा नै रहेको बताइरहेका छन् ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीले पनि आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ । तर, अहिलेसम्म टुंगो नलागेको संघीय सांसद प्रेम सुवालले जानकारी दिए । उनका अनुसार उमेदवारका बारेमा अहिले छलफल हुनेछ ।

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
निर्वाचनमा प्रदेशका ११० र स्थानीय तहका २३८ गरी ३४८ मतदाता छन् । प्रदेशसभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।
राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।
