नेपाल सुपर लिग : काठमाडौँ रेजर्स प्लेअफमा

काठमाडौं, २४ बैशाख : नेपाल सुपर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन्।

दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौँले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन् ।

ललितपुरले बुटवललाई १–० तथा काठमाडौँले विराटनगरलाई ५–४ गोलअन्तरले हराएको हुन् । जीतपछि ललितपुर प्लेअफमा पुग्ने सम्भावना कायमै छ । बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ । बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ । काठमाडौँ रेजर्स प्लेअफमा प्रवेश गरेको छ ।

ललितपुरका लागि खेलको छैटौँ मिनेटमा विदेशी नुर्लान नोभु्रजुभ जाहिदले निर्णायक गोल गरे । खेलको २२औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गलत सावित भयो । पहिलो हाफको इञ्जुरी समयमा बुटवलका सुमन लामाको प्रहार गोलमा परिणत हुन सकेन । मध्यान्तरपछिको खेलमा पनि ललितपुरले गोलको राम्रो प्रयास गरेको थियो । खेलको ६५ औं मिनेटमा डोना थापाले प्रहार गरेको बल गोल पोष्ट बाहिर गयो । खेलको ७३ औंँ मिनेटमा ललितपुरकै कमल श्रेष्ठले हानेको बल गोल पोष्टमा पस्न सकेन ।

ललितपुरले प्रतियोगितामा पाँच खेलमा ६ अंक जोडेको छ । बुटवलले पाँच खेलमा पाँच अंक बनाएको छ ।

अर्को खेलमा काठमाडौंँ रेजर्सका लागि विदेशी मेसुकेले ह्याट्रिक गरे । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उन पहिलो खेलाडी बने । विराटनगरले खेलको छैटौंँ मिनेटमा नै पहिलो गोल गरेको थियो । उक्त गोल विदेशी  एडिलाजाले गरे । खेलको २५ औंँ मिनेटमा सुनिल बलको प्रहार काठमाडौंँका गोलकिपर विकेश कुथुले बचाए । खेलको ३४ औं मिनेटमा विराटनगरका लागि विदेशी पेड्रो माञ्जीले गोल गरे । खेलको ३५ औंँ मिनेटमा काठमाडौंँका लागि विदेशी मेसुकेले पहिलो गोल गरे । लगत्तै उनले नै दोस्रो गोल गरे । खेलको ४१ औंँ मिनेटमा काठमाडौंँका लागि स्टेफेन विनोङले तेस्रो गोल गरे ।

मध्यान्तरपछिको खेलमा काठमाडौँका लागि ६७ औंँ मिनेटमा मेसुकेले व्यक्तिगत तेस्रो गोल गरे । खेलको ७९ औं मिनेटमा विराटनगरका लागि रजिन धिमालले गोल गरे । यस्तै खेलको ८२ औंँ मिनेटमा काठमाडौंँका लागि छिरिङ गुरुङले पाँचौँ गोल गरे । खेलको इञ्जुरी समयमा  माञ्जीले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ५–४ गोलको अवस्थामा पु¥याए । जीतसँगै काठमाडौंँ पाँच खेलमा १० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा र चितवनबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

आज पोखरा जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्न चाहन्छ ।

पोखराको यस खेल लिग चरणको अन्तिम खेल हो ।

पोखरा ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

प्लेअफको ढोका खुल्ला राख्न पोखरालाई चितवनविरुद्ध जित्नै पर्ने दबाब रहेको छ ।

पराजित भएको खण्डमा पोखरा बाहिरिनेछ ।

यता, चितवन पनि जित निकाल्दै प्लेअफको सम्भावना कायम राख्न चाहन्छ ।

४ खेलमा २ अंक जोडेको चितवन पुछारमा रहेको छ ।

चितवनलाई प्ले अफ सम्भावना कायम राख्न बाँकी दुई खेल जित्नै पर्ने दबाब रहेको छ ।

पोखरासँग पराजित भएमा चितवन बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.