आजदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द, चार्टर्ड तथा उद्धार उडान हुने
काठमाडौं, २४ बैशाख : मुलुकको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान स्थगन भएकोछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तर्राष्ट्रिय उडान पनि रोकिएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो ।
कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ । उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंका विभिन्न आठ होटल सूचिकृत गरिसकेको छ ।
मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो । यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय चार्टड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुने गरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ ।

चार्टड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गत वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।
अघिल्लो वर्ष कोभिड–१९ संक्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर लकडाउन गरेको थियो । चैत १० देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान स्थगन गरेको थियो । महामारी घटेपछि गत भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याएको थियो ।
