रियललाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाईनलमा

काठमाडौं, २३ बैशाख : इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

स्पेनिस क्लब रियल म्याड्रिडमाथि समग्रमा ३-१ गोलको जित निकाल्दै चेल्सी फाइनलमा पुगेको हो ।

पहिलो लेग १-१ गोलको बराबरीमा सकिँदा बुधबार भएको दोस्रो लेगमा चेल्सीले घरेलु मैदानमा २-० गोलको जित निकाल्यो ।

चेल्सीका लागि पहिलो हाफमा वेर्नरले गोल गरेका थिए । उनले खेलको २८ मिनेटमा गोल गर्दा चेल्सी घरेलु मैदानमा सहज स्थितिमा देखिएको थियो ।

खेल सकिन पाँच मिनेट बाँकी छदा चेल्सीका लागि माउन्टले दोस्रो गोल गरे ।

चेल्सी सन् २०१२ मा च्याम्पियन्स लिगको उपाधि जितेपछि पहिलो पटक फाइनलमा पुगेको हो ।

अब उपाधिका लागि चेल्सीले अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग आगामी २९ मेमा टर्कीको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ ।

सिटी पहिलो पटक फाइनलमा पुग्दा चेल्सी यसअघि २००८ र २०१२ मा पनि पुगेको थियो ।

च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लबबीच प्रतिस्पर्धा हुन लागेको यो तेस्रो पटक हो । सन् २००८ मा चेल्सी र म्यानचेस्टर युनाइटेड तथा सन् २०१९ मा लिभरपुल र टोटेनहम उपाधिका लागि भिडेका थिए ।

योसँगै चेल्सी तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । यस अघि २००८ मा फाइनलमा पुगेको चेल्सी म्यानचेस्टर युनाइटेडसँग पराजित हुदै उपविजेतामा चित्त बुझाएको थियो भने दोस्रो पटक २०१२ मा फाइनल पुग्दै बायर्न म्युनिखलाई पराजित गरेर उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.