पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण, १९९३ जना संक्रमणमुक्त

काठमाडौं, २२ बैशाख : पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३८२५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप २८४९ जना, भक्तपुरमा थप ४५८ जना र ललितपुरमा थप ५१८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ४४.४५ प्रतिशत हो, अर्थात् देशभरको नयाँ सङ्क्रमितमध्ये झण्डै आधाजसो काठमाडौँ उपत्यकामै रहेका छन् । यस्तै एकै दिन काठमाडौँ उपत्‍यकामा १५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो  २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । हाल कूल सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६१ हजार ५ सय ८८ जना होम आइसोलेसनमा छन् भने ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा छन् ।

मुलुकभर पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यो संख्या २४ घण्टाको हो । यो संख्या अहिलेसम्मकै बढी हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.