न्यायपरिषद् सदस्य निरालाकाे कोरोना संक्रमणबाट निधन
काठमाडौं, २१ बैशाख : न्यायपरिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ ।
कोरोना संक्रमणका कारण मंगलबार बिहान उनको निधन भएको हो । संक्रमणका कारण उनी सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत थिए । उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ सालमा न्यायपरिषद सदस्य नियुक्त गरेकी थिइन् ।
कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौंको मित्रपार्क निवासी निराला पूर्वमहान्यायाधिवक्तासमेत हुन् ।
उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिँदा सरकारका कानूनी सल्लाहकार अर्थात् महान्यायाधिवक्ता नियुक्त भएका थिए । त्यसपछि गुमनाम रहेका निरालालाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले न्याय परिषद्को सदस्यमा सिफारिस गरेको थियो ।
