उपत्यकामा ३६६६ सहित थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण, ३७ संक्रमितको मृत्यु

काठमाडौं, २० बैशाख : पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये एक हजार १८१ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये १७१ जना आईसीयूमा र ५६ जना भेन्टिलेटरमा रहेका छन् ।
उपत्यका बाहिर अति प्रभावित जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा ६१९ जना संक्रमित थपिएका छन् । बाँकेमा ४४० दाङमा मोरङमा ३६२ कपिलवस्तुमा ११५, बैतडीमा १२७ जना संक्रमित थपिएका छन् ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितमात्र ५४ हजार ४१ छन्। सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा र तीन हजार ८६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
उपचाररत संक्रमितमध्ये ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा २ हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या तीन हजार ३६२ पुगेको छ ।
