लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन: नियुक्त
काठमाडौं, १९ बैशाख : एकल बहुमतको सरकार बनाउन आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका नेकपा एमालेका नेता शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तीन वर्षअघि धारा १६८ ९२०अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
उनको शपथको समय भने तय भएको छैन । पोखरेलले बिहान राजीनामा दिएपछि बसेको एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने निर्णय गरेको थियो । सोही अनुसार पोखरेलले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।

