आज मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं, १८ बैशाख : आज शनिबार मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो । १७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको थियो ।

कोरोना भाइरसको नयाँ भेरियन्टका कारण १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस यस वर्ष नेपालसहित विश्वका धेरै देशमा प्रभावित बनेको छ । त्यसो त १३१औँ श्रमिक दिवसमा पनि कोरोनाकै कारण औपचारिक कार्यक्रम गरिएको थिएन । नेपालमा यो वर्षको दिवस ‘कोरोना महामारीबाट बचौँ, बचाऔँ, मर्यादित रोजगारी, सामाजिक सुरक्षा लागू गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।

सरकारले बढ्दो कोरानाको जोखिमका कारण उपत्यकासहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा, आंशिक बन्द भएकाले श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले सामान्य भर्चुअलबाहेक अन्य औपचारिक कार्यक्रम गर्न सम्भव नभएको जानकारी दिएका छन् ।

अघिल्लो वर्ष कोरोनाको कहरले देशमा लामो समय जारी बन्दाबन्दीमा सबैभन्दा बढी समस्यामा श्रमिक परेका थिए । नेपालमा मात्र होइन, संसारभरि नै । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का अनुसार गत वर्ष कोरोनाका कारण नेपालमा हरेक पाँच जनामा दुई जनाले रोजगारी गुमाएका थिए । ती रोजगारी गुमाएकाले भर्खर रोजगारी पाएको बेला कोरोनाको अर्को भेरियन्ट आएर त्यही रोजगारी पनि खोसिने हो कि रु भन्ने चिन्ता श्रमिकसमक्ष पुनः उत्पन्न भएको छ ।

भर्खर मात्रै अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी)ले कोरोना महामारीका कारण सन् २०२१ मा स्वदेश र विदेश गरेर प्रत्यक्ष रूपमा सातरआठ लाखले रोजगारी गुमाउने अवस्था आउने प्रक्षेपण सार्वजनिक गरेको छ । आईटीयूसीले यस अवधिमा विश्वमा एक करोड ३० लाखले रोजगारी गुमाउने प्रक्षेपण गर्दै नेपाल जस्ता श्रमिक निर्यात गर्ने देश अझै बढी प्रभावित हुने भएकाले श्रमिकको रोजगारी सुरक्षाका लागि ट्रेड युनियनलाई सतर्क रहनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.