देशभर मौसम बदली : हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं, ८ बैशाख : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै ठाउँको मौसम बदली भई हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने जनाएको छ ।

स्थानीय वायु, पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको कारण वर्षा हुन लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार मंगलबारदेखि अरब सागरबाट वायु भित्रिएको छ । यसको असर कम्तीमा तीन दिन देखा पर्नेछ। केही दिन कम भएको तुवाँलो पुनः लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो स्थानको बिहानैदेखि मौसम बदली भएको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको मौसम पनि बिहानैदेखि बदली भएको छ । उपत्यकाको न्यूनतम तापक्रम बिहान १४ दशमलब ५ डिग्री सेल्सियस मापन भएको थियो । दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.