विराट गोल्डकपको फाइनलमा एपिएफ र पञ्जाब पुलिस
विराटनगर, ३ बैशाख : भारतको पञ्जाब पुलिस क्लब विराट गोल्डकप फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ । मोरङको विराटनगरस्थित सहिद रंगशालामा बिहीबार राति भएको खेलमा पञ्जाबले संकटा क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
निकै प्रतिस्पर्धात्म बनेको खेलमा पञ्जाबलाई जित दिलाउन परमित सिंहले ७६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पञ्जाबले शनिबार हुने फाइनल खेलमामा एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनलमा एपिएफले आयोजक विराटनगर महानगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै यसअघिनै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ ।
खेलको म्यान अफ द म्याच पंजावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
झगडा गरेपछि दुई खेलाडीलाई रेड काड
खेल सकिएपछि संकटा र पंजावका खेलाडीबिच झगडा भएपछि दुई जना खेलाडीले रेड कार्ड पाएका छन् ।
पंजावका कप्तान जगदीप सिंह र संकटाका सहिद स्माटले रेड कार्ड पाएका हुन् । रेफ्री श्याम दनुवारले खेल सकिएको घोषण गरेसँगै संकटा र पंजावका खेलाडी बीच झगडा भएको थियो ।
झगडा गर्ने मध्येका दुईजना खेलाडीलाई रेफ्री दनुवारले रेड कार्ड दिएका छन् । रेड कार्ड पाएसँगै पंजावका कप्तान जगदीपले फाइलनमा खेल्न नपाउने भएका छन् ।
