संकटाले चुम्यो पहिलोपल्ट आहा रारा गोल्डकपको उपाधि

काठमाडौं, २८ चैत : १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको संकटा क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा अफ्रिकन रुट एसोसियसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो ।
ए डिभिजन क्लबले इतिहास रचेर पहिलो पल्ट उपाधी जित्दा गोलरक्षक राजाबाबु थापा नायक बने । उनको उत्कृष्ट बचाउको मद्दतमा संकटाले फाइनलमा अफ्रिकन रुटलानई निराश बनाएको हो । सेमिफाइनल र क्बार्टरफाइनलमा पनि उत्कृष्ट बचाउ गर्दै आएका उनले फाइनलमा उपाधी दिलाउन पेनाल्टि बचाएका थिए ।
उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो । संकटाले एपीएफलाई २–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो भने अफ्रिकनले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको थियो ।
खेलको निर्धारित ९० मिनेटसम्म र थप गरिएको ३० मिनेटको समयसम्म पनि दुबै टोलीबाट १–१ गोलको बराबरीमा भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे भने सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले विफल पारिदिए ।
यस्तै अफ्रिकन रुटका यानिक र रिमले गोल गरे भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले उत्कृष्ट बचाउ गरे । यस्तै अफ्रिकन रुटका कुइटेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको ११ औं मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुटलाई १–० को अग्रता दिलाएका थिए । उनले मौसाको पासमा गोल गरेका थिए । पहिलो हाफमा अफ्रिनले अग्रता बनाएपनि दोस्रो हाफको सुरुमै संकटाले अग्रतालाई बराबरीमा ल्यायो । खेलको ५१ औं मिनेटमा गोलकिपर राजाबाबुको ग्लोरीले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
प्रतियोगितामा संकटाका राजाबाबु थापा उत्कृष्ट गोलकिपर, संकटाकै निरज बस्नेत उत्कृष्ट डिफेण्डर , अफ्रिकनका राफाल उत्कृष्ट मिडफिल्डर , उत्कृष्ट फर्वाड अफ्रिकनका बास्टेक भए भने अफ्रिकनका प्रशिक्षक उत्कृष्ट प्रशिक्षक घोषित भए । विजेता टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कप र मेडल दिएका छन् । उनले रंगशालामा बसेर पूरै खेल हेरेका थिए ।
प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको थियो ।
