आइपीएल : मुम्बई इन्डियन्सलाई बैंग्लोरले हरायो

काठमाडौं, २८ चैत : इन्डियन प्रिमियर लिग (आइपीएल)-१४ औं संस्करणको पहिलो खेल निकै रोमाञ्चक भएको छ ।

गएराति भएको सो खेलमा साविक विजेता एवम्‌ पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्सलाई रोयल च्यालेञ्जजर्स बैंग्लोरले २ विकेटले हराइदिएको हो ।

टस जितेर पहिलो इनिङमा बलिङ गरेको बैंग्लोरले मुम्बईबाट १६० रन जोड्ने लक्ष्य पाएको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै बैंग्लोरले सो लक्ष्य भेटेको हो ।

बैंग्लोरलाई जित दिलाउन ब्याटिङतर्फ एव डी भिलियर्सले सर्वाधिक योगदान गरे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रन जोडे । अन्तिम ओभरको चौथो बलमा २ रन लिँदै जित हासिल गर्न खोज्ने क्रममा विकेट गएपछि उनी पेभेलियन फर्किएका थिए ।

त्यसपछि क्रिजमा आएका मोहम्मद सिराजले एक रन र हर्षल पटेलले एक रन जोडेपछि बैंग्लोरले मुम्बईलाई निराश पारेको थियो ।

टीमलाई जित दिलाउने क्रममा ग्लेन म्याक्सवेलले ३९, कप्तान विराट कोहलीले ३३ र वाशिङ्टन सुन्दरले १० रन जोडे ।

बलिङतर्फ हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा २७ रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिए । २०औँ ओभरमा मात्रै उनले ३ विकेट लिए थिए । हर्षल पटेलले २ विकेट, काइल जेमिसन र वाशिङ्टन सुन्दरले  एक–एक विकेट हात पारे ।

पहिलो इनिङ ब्याटिङ गरेको मुम्बईले ९ विकेट क्षतिमा १५९ रन जोडेको थियो । ओपनर क्रिस लिनले मुम्बईका लागि सर्वाधिक ४९ रन बटुलेका थिए ।

सूर्यकुमार यादवले ३१, इशान किसानले २८, कप्तान रोहित शर्माले १९ र हार्दिक पान्ड्याले १३ रन जोडे । मुम्बईका बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्‌ ।​​

मुम्बईले दोस्रो खेलमा १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग र बैंग्लोरले १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.