किर्गिस्तान यू-२३ टिमसँग आर्मीको बराबरी

काठमाडौं, १५ चैत : एएफसी कप-२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू-२३ टिमसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेलमा गोल निस्कन सकेन ।

किर्गिस्तानविरुद्ध बल पोसेसनमा आर्मीले पकड जमाएको थियो । तर, आर्मी गोल गर्न असफल रह्यो ।

खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडर किर्गिस्तानका गोलकिपर प्रियादकिन आर्तिमले उत्कृष्ट बचाऊ गरे ।

खेलको २६ औं मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको भली प्रहार पोस्ट बारमा लागेर फर्किदा किर्गिस्तान अग्रता बनाउन असफल भएको थियो ।

४७ औं मिनेटमा विवेक बस्नेतले करिब १८ यार्डबाट गोल गर्न सकेनन् । अनमार्क रहेका उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको ७३ औं मिनेटमा पेनाल्टी भित्रबाट नवयुग श्रेष्ठको कडा प्रहार किर्गिस्तानका परिवर्तित गोलकिपर टोकोतेभले बचाए ।

८५ औं मिनेटमा किर्गिस्तानले गोलको अवसर पाएको थियो । तर, अभिलोभले किपर अघि बढेको अवस्थामा गोल गर्न सकेनन् ।

राष्ट्रिय टिममा रहेका आर्मीका भरत खवास र विकेश कुथु भने किर्गिस्तान विरुद्ध खेलेनन् ।

आर्मीले १० दिनपछि एएफसी कप प्लेअफको पहिलो खेलमा श्रीलंकाको श्रीलंका पुलिससँग खेल्नेछ । चैत २५ गते दशरथ रंगशालामा उक्त खेल हुनेछ । गत सिजन सहिद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको आर्मीले एएफसी लाइसेन्स प्राप्त गरेपछि एएफसी कपको प्लेअफ खेल्ने अवसर पाएको हो ।

आर्मीको प्रतिद्वन्दी को ?

आर्मीले एएफसी कपको प्ले अफमा श्रीलंका पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

आर्मीले एएफसी कप-२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ ।

आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ ।

पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।

यस प्ले अफको विजेताले समूह चरणको समूह ‘डी’ स्थान बनाउने छन् ।

समूह ‘डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.