सुन्दरीजलमा आइपुग्यो मेलम्चीको पानी

काठमाडौं, २२ फागुन : आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजल आइपुगेको छ । गत फागुन १० गते मेलम्चीको बाँधस्थलबाट सुरुङमा परिक्षणका लागि पानी पठाइएको थियो । यसअघि गएको असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको थियो।

मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा गरेको कार्यक्रममा उनले मेलम्चीबाट आएको पानी स्विच थिचेर सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पठाएका छन् । २७ किलोमिटर सुरुङमार्ग हुँदै सुन्दरीजलमा पानी आइपुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेका छन् ।

आज लामो सपना पुरा भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने दाबी गरे । उनले भनेका छन्, ‘काठमाडौंबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौंमा पानी झर्‍यो । केही दिनमा वितरण हुने भयो ।’

मेलम्चीमा लामो समयको प्रतिक्षा पुरा भएको भन्दै उनले केही दिनमा धारामा पानी आउने बताए । यसअघि काम गर्न दिएनन्, आफ्नै पार्टीबाट असहयोग भयो भन्नुपरेको भन्दै उनले भने, ‘अब त प्रमाणित भयो होला नि । दिनैपिच्छे ठूलठूला काम भएका छन् । कही उद्घाटन भएका छन्, कहि शिलान्यास भएका छन् ।’

काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासीलाई उनले धन्यवाद दिए ।

यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो ।

आयोजनाका अनुसार शनिबार सुन्दरीजल झर्ने पानी सो रातभर वाग्मती नदीमा बगाइनेछ। आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको छ ।

शनिबार रातभरि वाग्मतीमा झर्ने पानी बुधबार बिहानै गेट बन्द गरेर मुहानस्थलतिरै फर्काउने आयोजनाले जनाएको छ । सुन्दरीजलको गेट बन्द गरेपछि सुरुङ भरिन तीन–चार दिन लाग्ने खत्रीले जनाए । उनका अनुसार सुरुङ भरिएपछि पुनः खाली गर्ने आयोजनाको तयारी थियो । तर उपत्यकावासीले मेलम्चीको पानी खान व्यग्र प्रतीक्षा गरिरहेकाले सुरुङ भरिएपछि सीधै प्रशोधन केन्द्रमा खसाल्ने नयाँ कार्यतालिका तय गरिएको छ । त्यहाँ १७ करोड लिटर पानी क्षमताका दुईटा प्रशोधन केन्द्र छन् ।

अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ । परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

सन्दरीजलमा पानी झार्ने क्रममा प्रधानमन्त्री ओलीले मेलम्ची आयोजनाबारे कुराकानी हुँदा कालो रहेका आफ्ना कपाल पानी आउँदा सबै फुलेको सुनाए । आयोजनाको २०४१ ताका अध्ययन भएको थियो भने २०५२ सालमै मेलम्ची खानेपानी लिमिटेड स्थापना भएको थियो । २०५७ सालमा एसियाली विकास बैंक (एडीबी) लगायतका दातृ निकायसँग ऋण सम्झौता हुँदा यो आयोजना २०६४ सालमा नै निर्माण सम्पन्न हुने भनिएको थियो । तर, दातृ निकायसँगका विभिन्न मतभेदका कारण निर्माण थाल्न नै ढिलाइ भएको थियो ।

२०६५ सालमा ५ वर्षभित्र काम सक्ने गरी ठेक्का पाएको चिनियाँ कम्पनी सीआरसीसीले २०६९ सालसम्म २७ किलोमिटरमध्ये ८ किलोमिटर मात्रै सुरुङ खनेपछि सरकारले ठेक्का तोडेको थियो । २०७० सालमा ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले २०७३ मा काम सक्नुपर्ने भएपनि भूकम्प र नाकाबन्दीको बहाना बनाएर काममा फेरि ढिलाइ भयो । त्यसलाई लिएर भुक्तानी विवाद चलिरहेका बेला कम्पनी नै टाट पल्टिएपछि २०७५ माघमा सीएमसी निर्माणस्थल छोडेर हिड्यो ।

२०७६ असोजपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम गरिरहेको छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी अहिले काठमाडौंको माग धान्न पर्याप्त नभएकाले थप ३४ करोड लिटर पानी यही सुरुङमा याङ्ग्री र लार्के खोलाको पानी ल्याउन मेलम्चीको दोस्रो आयोजना सुरु गर्ने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.