न्यायाधीश धम्क्याउँदै उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, १५ फागुन : उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको टिप्पणी गरेका छन्।

‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चका न्यायाधीशहरू होइनन् र हुन सक्दैनन्, सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने, ‘हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दै थियो, त्यही दुर्भाग्यतिर जानका लागि प्रेरित गरेको छ।’

ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिने पनि बताएका थिए। ‘म चुनौती दिन चाहन्छु, सरकारविरुद्ध अविश्वास ल्याए हुन्छ। प्रधानमन्त्रीले डटेर सामना गर्नुहुनेछ’, पोखरेलले भने।

उनले अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणाम स्वीकार गर्ने पनि बताए। ‘केपी ओली संसद्को सर्वोच्चतालाई मान्छन्। त्यहाँ सामना गर्छन्। तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याऊ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले। केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराहरूको सामना गर्छ,’ पोखरेलले नेकपाको दाहाल–नेपाल समूहलाई लक्षित गर्दै भने।

यो समाचार आजको नागरिक  दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.