रहेनन्‌ पूर्वमन्त्री कुबेर शर्मा

काठमाडौं, १५ फागुन : पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ ।

नेपालका पहिलो चार्टर्ड एकाउन्टेन्ट (सिए), पूर्वमन्त्री कुबेरप्रसाद शर्माको निधन भएको छ । उपचारको क्रममा शुक्रबार साँझ ५ बजेतिर मेडिसिटी अस्पताल काठमाडौंमा ८१ वर्षीय शर्माकाे निधन भएको हाे ।

सप्तरीकाे राजगढ गाउँपालिकास्थित नर्घो टोलका शर्माले २०४८ सालमा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा चुनाव जितेका थिए । पछि उनी पर्यटनमन्त्री पनि बने ।

२००७ साल हुँदै प्रजातन्त्रिक आन्दोलनमा सहभागी उनी २०४६–०४७ सालको जनआन्दोलनमा सप्तरीबाट सक्रिय थिए ।  २०५३ सालपछि कांग्रेस पार्टी छाडेर उनले हरियाली नेपाल पार्टी खाेलेका थिए । उनी इच्छामृत्युलाई कानुनी मान्यता दिन माग गर्दै अभियान चलाएको व्यक्ति पनि हुन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद शर्मा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई निकट नेता थिए । पछिल्लो कालखण्डमा हरियाली पार्टी स्थापना गरेर चर्चामा आएका शर्मा प्रख्यात चार्टर्ड एकाउन्टेन्टका रूपमा समेत चिनिन्थे ।

शर्मा विगत केही वर्षयता अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए ।

उनका ३ जना छोरी छन् । उनको अन्तिम संस्कार शनिबार गरिने परिवारले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.