संघीय लोकतान्त्रिक गणतन्त्र तलमाथि गर्छु भन्ने नसोचे हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २३ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले अब लोकतन्त्र कसैले पनि खोस्न नसक्ने जिकिर गरेका छन् ।

नारायणहिटी दरबारअघि शुक्रबार आयोजित सभामा भने, “अब कसैले पनि लोकतन्त्र खोस्न सक्दैन । नेपालमा लोकतन्त्र मासिन सक्दैन । लोतन्त्र सुदृढ छ । लोकतन्त्रप्रति केही गर्छु भनेर नचिताए हुन्छ । कर्के नजर न लगाए हुन्छ ।”

उनले जनताले लढेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्छु भन्ने नसोच्न चेतावनी दिए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गरिरहेको र गर्दै जाने बताए ।

केपी ओलीले यो सभा केका लागि ? हिजोसम्म पनि भन्दै थिए, आज बिहानसम्म पनि लैनचैरको सडकमा हिँड्नेहरुले भन्दै थिए । राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले ! जो आधा दशकभन्दा बढी लोकतन्त्रका लागि लड्यो । आधाभन्दा बढी समय गणतन्त्रका लागि लड्यो । सामाजिक समानताका लागि लड्यो । त्यो केपी ओलीले राजन्तन्त्र घोषणा गर्छ रे !,” ओलीले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भुमरीमा जान नदिने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार आफू अध्यक्ष रहेको नेकपाको बागमती प्रदेश कमिटीले काठमाडाैंको राजमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरि कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताएका हुन् ।

‘उहाँहरू भन्नुहुन्छ, अब शाकाहारी आन्दोलनलाई हुँदैन भनेर । शाकाहारी आन्दोलन हुदैन भनेको के हो? चिकेन चिल्ली खान्छु भन्या हो? उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो’ उनले भने, ‘म उहाँहरूलाई भन्दिन चाहन्छु नरभक्षी आन्दोलनका दिन गए। अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन । नेपाल शान्तिपूर्ण । अब नेपाल अशान्ति र हिंसाको भुमरीमा जान सक्दैन ।’

प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गरे । जनताले सरकारलाई ५ वर्ष काम गर्ने जनादेश दिएको भए पनि संसद विघटन गरी ताजा जनादेशमा गएको स्पष्ट पारे ।

‘यो सरकार ५ बर्षका लागि हो, ५ वर्ष चलाऔँ। तर, उहाँहरू पार्टी फोड्नुपर्छ, केपी ओली हट्नुपर्छ अनि जोरजाम गरेर विभिन्नसँग मोलतोल गरेर जसरी पनि केपी ओलीलाई हटाउनुपर्छ’, उनले भने, ‘देशलाई भड्खालोमा हाल्नुपर्छ । त्यसलाई उहाँहरू स्थिरता र स्थायित्व भन्नुहुन्छ । के त्यो स्थायित्व हो र ?’

प्रधानमन्त्रीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सक्ने भन्दै संसद विघटन गर्ने निर्णयको बचाउ गरे । बेलायतको उदाहरण दिदै उनले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गरे ।

‘देशव्यापी रुपमा एउटा बहस भइरहेको छ । बलजफ्ती यो बहस निकालिएको छ । संसद विघटनको सिफारिस, संसद विघटन संविधानसम्मत छ कि छैन ? भनेर बहस निकालिएको छ’ उनले भने, ‘म भन्न चाहन्छु संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था भयो भने, काम गर्न नपाउने अवस्था भयो भने संसद विघटन गर्छ । बेलायतमा लिखित संविधान छैन तर पनि प्रजातन्त्र चलेको छ ।’

प्रचण्ड- माधव समुहले संवैधानिक नियुक्तिमा अवरोध गरेको दाबी नि प्रधानमन्त्रीले गरे । लोकतन्त्रलाई ठिक ढंगले चल्न नदिनेहरू गएपछि सबै कुरा ठिक भएको भन्दै अब मुलुक स्थिरता तर्फ उन्मुख भएको बताए । सभामा ‘राजतन्त्र फर्किएको घोषण गर्छ’ भन्दै हल्ला फैलाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.