नेकपा केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज वाग्लेको दुर्घटनामा मृत्यु

सर्लाही, २२ माघ : नेकपा (दाहाल–नेपाल समूह) का केन्द्रीय सदस्य तथा सर्लाही इन्चार्ज डाचाराज वाग्ले मृत फेला परेका छन् । सर्लाहीको बरहथवा नयाँसडक सडकखण्डमा बुधबार राति ९ बजे उनको शव र दुर्घटनाग्रस्त मोटरसाइकल फेला परेको हो ।

उनको मोटरसाइकललाई कुनै गाडीले ठक्कर दिएको संकेत भने नभएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी उद्धवसिंह भाटले बताए । तीव्र गतिको कारण दुर्घटना भएको हुनसक्ने उनको भनाइ छ ।

बुधबार साँझ नेकपा (दाहाल–नेपाल) समूहले बरहथवामा मसाल जुलुसको आयोजना गरेको थियो । वाग्लेले त्यसको नेतृत्व गरेका थिए । त्यहाँबाट उनी ज१०प ३२०६ नम्बरको मोटरसाइकलमा नयाँसडकस्थित घर फर्कने क्रममा थिए ।

बरहथवाबाट नयाँसडक पुग्न जंगलको बाटो पार गर्नुपर्छ । उनी बरहथवा–नयाँसडक सडक खण्डमै दुर्घटनामा परेका हुन् । प्रहरीलाई टेलिफोनमार्फत राति ९ बजे दुर्घटनाको जानकारी आएको डीएसपी भाटले बताए ।

प्रहरीले एम्बुलेन्स बोलाएर उनलाई अस्पताल पु¥याएको जनाएको छ । तर, बरहथवा अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत्यु घोषणा गरेका थिए । उनले लगाएको हल्मेट टाउकोमै रहेको जनाइएको छ । घटनाको अनुसन्धान शुरु भएको डीएसपी भाटले जनाएका छन् ।

हिजो नै जिल्ला कमिटीको पूर्ण बैठकले सर्लाहीका चार वटा ठाउँमा मसाल जुलुस गर्ने निर्णय गरेको थियो । बरहथवाको नेतृत्व गर्ने जिम्मा वाग्लेलाई दिइएको थियो । आफूलाई पनि वाग्लेले बरहथवा जान प्रस्ताव गरे पनि पार्टीका साथीहरुले हरिऔन बोलाएकाले त्यता गएको अर्का केन्द्रीय सदस्य अच्युतम् काफ्लेले बताए । काफ्लेका अनुसार मसाल जुलुसपछि उनी एक्लै मोटरसाइकलमा फर्कँदै थिए ।

वाग्ले सामाजिक अभियानहरुमा पनि संलग्न थिए । दुई वर्षअघि मिटर ब्याजीहरुविरुद्धको अभियानमा उनी सक्रिय थिए । त्यसक्रममा मिटर ब्याजी पीडितहरुको नेतृत्व गरेर न्यायका लागि काठमाडौँ पनि पुगेका थिए । त्यसैले षडयन्त्र भएको पनि हुनसक्ने काफ्ले बताउँछन् । तर, प्रहरीले अनुसन्धान थालेको हुनाले अहिले केही भन्न नसकिने उनले बताए ।

वाग्ले तत्कालीन नेकपा एकता केन्द्र हुँदै एकीकृत नेकपा माओवादीमा आएका थिए । उनी एकता केन्द्रको विद्यार्थी संगठनको अध्यक्ष पनि भएका थिए । एमाओवादीको उनी केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज थिए । एमाओवादी विभाजन हुँदा उनले मोहन वैद्यलाई साथ दिएका थिए ।

तर, रामबहादुर थापा समूह पुनः पुष्पकमल दाहाल नेतृत्वको नेकपा मोओवादी केन्द्रमा फर्किएपछि उनी पनि मूल पार्टीमै फर्किएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भइ नेकपा बनेपछि उनी त्यसको केन्द्रीय सदस्य र सर्लाही इन्चार्ज भए ।

अहिले उनी रामबहादुर थापाको साथ छाडेर नेकपाको दाहाल–नेपाल समूहमा थिए । प्रतिनिधिसभा विघटनविरुद्ध सर्लाहीमा भएको आन्दोलनलाई उनले नै नेतृत्व गरिरहेका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.