निर्वाचन आयोगले नेकपाका दुवै समूहसँग छलफल गर्दै
काठमाडौं, १६ माघ : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै समूहलाई आज छलफलका लागि बोलाएको छ ।
आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५–५ जनालाई बोलाएको हो । आज साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
आगामी निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता श्रेष्ठले बनाए ।
त्यस्तै निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने श्रेष्ठको भनाइ छ । आयोगले पठाएको पत्रमा दलसम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन् । तर अहिले नेकपा विवादमा रहेकोले त्यस विषयमा पनि छलफल हुने आयोगको भनाइ छ ।
यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो ।
