प्रचण्ड–माधव समूहको आज शक्ति प्रदर्शन, नौ स्थानबाट निस्कदैछ जुलुस

काठमाडौं, ९ माघ : संसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ ।

प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागिबिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ स्थान (आर्क) बाट जुलुस निकाल्ने तयारीे छ ।

केन्द्रीय संघर्ष समितिले कार्यक्रममा तोकिएका स्थान र समयमा आइपुग्न पार्टी कार्यकर्ताहरुलाई कडा निर्देशन दिएको छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किने छन् ।

माइतीघरको जुलुशमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने छन् ।

डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्ने छन् ।

लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गर्नेछन् ।

त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु रहने संघर्ष समितिले जनाएको छ ।

प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् ।

देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसको नेतृत्व गर्ने छन् ।

वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ रहने छन् ।

बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ (प्रकाश) ले जानकारी दिए ।

जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको छ । प्रचण्ड–माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले  गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । तर प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै पुर्नस्थापनाका लागि सवै दलहरु आन्दोलमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.