थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडौं, ३ माघ : पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ८१९ नमुना परीक्षण गर्दा ८७ महिला र १५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल २० लाख ८ हजार ९९४ पीसीआर परीक्षण गरिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ४ सय ७७ जना उपचारपछि डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ५८ जना आइसोलेसनमा छन् । २३१ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ ।
हाल देशभर ४ हजार ५८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १६९ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९५४ पुगेको छ ।
