आज २९९औँ पृथ्वी जयन्ती, विविध कार्यक्रम गरेर मनाइँदै
काठमाडौं, २७ पुस : आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा सरकारी स्तरबाट कुनै पनि कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल, तथा राजावादी संघ संस्थाले राष्टिय एकता दिवसको रुपमा आजको दिनलाई मनाउँदै छन् ।
विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो । पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताए ।
विसं १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उनी पराजित भएका थिए । १८०१ मा नुवाकोटमा विजयी भए । यसैगरी कीर्तिपुरमा पनि उनी दुई पटक पराजित भएका थिए ।
विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गरेका थिए । यसपछि भारतमा उपनिवेश चलाइरहेका अङ्ग्रेज पनि उनीसँग डराएका थिए ।
शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेखेका थिए । यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाए । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो । नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।
पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ । पृथ्वी जयन्ती राष्ट्रिय रुपमा सार्वनिक बिदा नदिएको भएपनि गोरखा, झापाका स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
नेपाल एकिकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो । तर ६२ /६३ को आन्दोलन पछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठेपनि सरकारले कुनै निणय गर्न सकेको छैन ।
पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकिकरण गरेर वृहत नेपाल बनाएका थिए । तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उनको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने इतिहासविद्हरुको भनाइ छ ।
पृथ्वीनारायण शाहका दिव्योपदेश
जब पृथ्वीनारायण शाहलाई लाग्यो, म अब धेरै बाँच्दिनँ । आफ्ना नजिकका भाइभारदारलाई जम्मा गरेर यो मुलुकलाई कसरी जोगाएर अगाडि बढाउन सकिन्छ भन्ने आफ्ना खारिएको अनुभव बाँडे ।
त्यसलाई नेपालीले अहिले दिव्योपदेशकारुपमा बुझ्छन् ।
भावी पुस्ताले देश हाँक्दा के–के कुरामा ध्यान दिनुपर्छ भनी उनले दिएको उपदेश अहिलेको नेपाली राजनीतिका लागि पनि उत्तिकै महत्वपूर्ण देखिन्छ ।
अहिले चर्चा समावेशीको छ । राज्यसत्ता समावेशी हुन सकेन, एकल जाति र क्षेत्रको वर्चश्व भएको टिप्पणी गरिन्छ । शासनसत्तामा बसेकाले यसमा ध्यान नदिएको आरोप लाग्दै आएको छ ।
यो कुरा पृथ्वीनारायण शाहले उहिल्यै बुझेका थिए । उनले भने–‘मेरा साना दुषले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो । सबैलाई चेतान भया ! यो फूलबारी छोटा बडा चारै वर्न र छत्तिसै जातले यसलाई सम्हार गर्नू ।’
सुशासन र भ्रष्टाचार नियन्त्रण नभए देउ उँभो लाग्दै भन्ने उनलाई थाहा थियो । आफ्नो उपदेशमा पृथ्वीनारायण भन्छन्–‘अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगान्र्या भन्याको घुस दिन्या र घुस षान्या हुन् । ईन दुईको ता धन जीव गरि लियाको पनि पाप छैन, ई राजाका महासतुर हुन् ।’
धान फल्ने खेतमा प्लटिङ गरिन्छ । विकासको मोडल धेरैलाई मन परेको छैन । यस्तो अवस्था आउला भन्ने सायद उनले पूर्वानुमान नै गरेका थिए । नत्र किने भन्थे–‘षानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जग्गामा सारिकन पनि षानि चलाउनू । गह्रो बन्या जग्गामा घर भया पनि अरु जग्गामा सारी कुलो काटी षेत बनाइ आवाद गर्नू ।’
हाम्रा छिमेकीसँग कस्तो सम्बन्ध राख्ने अहिलेको राजनीति अझै अन्योलमा छ । उनले स्पस्ट बाटो देखाएका छन्–‘यो राजे दुई ढुंगाको तरुलजस्तो रहेछ । चीन बादशाहसित ठूलो घाहा राखनू । दषिनको समुद्रका बादशाहसित घाहा त राषनू । तर, त्यो महाचतुर छ, जाई कट्क नगनूँ । झिकी कटक गर्नू ।’
देशको समृद्धि चर्चामा छ । तर, समृद्धि कसरी ? बढ्दो व्यापार घाटा टाउको दुःखाइ बनेको छ । शासन चलाउनेलाई उनको अर्ति थियो–‘आफ्ना देशको जिनीस् जरिबुटि देस लैजानू र नगद षैचनू । नगद षैचि राषनू र प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भन्डार भन्याका रैतानहरु हुन् ।
पहिचान अहिले सबैको चासोको विषय बनेको छ । चिन्ता छ, संस्कृति मासिँदै गएकोमा । भाइभारदारलाई सम्झाउँदै पृथ्वीनारायण भन्छन्–‘आफ्ना स्वष–सयेललाई ता शास्त्रबमोजिमको तिनै सहर नेपालको नेवारहरुको नाच झिकाइ हेर्यो भने पनि हुन्छ । ईनमा ता दियाको पनि आफ्नै देसमा रहँन्छ । यस्व भया आफ्नु देस गमन रहन्छ ।’
देश कसरी चलाउने हाम्रो नेतृत्वले पृथ्वीनारायण शाहको दिव्योपदेश पढे पुग्छ ।

