सडकबाट फैसला नगर्न पूर्व प्रधानन्यायाधीशहरुलाई प्रधानमन्त्री ओलीको चेतावनी
काठमाडौं, २५ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाट फैसला नगर्न पूर्व प्रधानन्यायाधीसहरुलाई चेतावनी दिएका छन् ।
नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीशप्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रज्ञा भवन कमलादीमा ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले गरेको कार्यक्रममा प्रधामनमन्त्री ओलीले पूर्व प्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतलाई प्रभावित पार्न खोजेको बताए ।
“न्यायालयमा एकपटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउन मिल्छ ?,” उनको प्रश्न थियो, “एकजना वकिलले वर्तमान र भविष्य सम्झेर फैसला गर्नू भनेर धम्क्याएछन् । के भनेको त्यो ? न्यायाधीशलाई धम्क्याउने ?”
उनले अति जान्ने सुन्ने अजासु केही निस्किएर संवैधानिक इजलासले हुँदैन भनेका छन् भन्दै आक्रोश व्यक्त गरे ।
“कुन संविधानले भन्यो ?,” उनले भने, “हण्डीबाट चलेका बिकाउ व्यक्तिबाट न्यायालय प्रभावित हुँदैन । न्यायालयले संसद् पुनःस्थापना गर्दैन ।”
उनले अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दा सडकबाटै फैसला गर्न मिल्छ, उहाहरुले जे भन्नुहुन्छ त्यसै अनुसार फैसला हुनुपर्ने भन्दै प्रश्न गरे । भने, ‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने ? सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’
सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार विज्ञप्ति जारी गरेका थिए । संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनका लागि बाहेक कुनै पनि अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार वा व्यवस्था नगरिएकामा आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
उनले हण्डीबाट चलेको बोलीबाट न्यायालय प्रभावित नहुने उल्लेख गरे । संसदमा आफू दुई तिहाइ समर्थन प्राप्त प्रधानमन्त्री रहेको र अन्यले सरकार बनाउने विकल्प नरहेकोले आफूले संसद विघटन गर्नु संविधा सम्मत भएको ओलीले दावी गरे ।
आफूहरुले कहिल्यै न्यायपालिकाविरुद्ध बोल्ने, नाराजुलुस गर्ने नगरेको उनले बताए ।
यसैगरी, नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालको जहाँ जति सक्यो त्यति धज्जी उडाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रज्ञा भवन कमलादीमा ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “साथीहरु ! जहाँ सक्नुहुन्छ त्यहाँ उनीहरुको धज्जी उडाउनुस् । यिनीहरुलाई हैसियत देखाउनुपर्छ ।”
प्रचण्डले पहिले सूर्य चिह्न छाडेको भन्दै अहिले किन खोजेको भन्दै आक्रोश व्यक्त गरे ।
