लोडसेडिङ गर्नुपर्ने अवस्था छैन : कार्यकारी निर्देशक शाक्य
काठमाडौं, १७ पुस : नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।
शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताएका छन् ।
केही सञ्चार माध्यममा अघोषित लोडसेडिङ शुरु भएको र विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्ने समाचारहरु प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि शाक्यले बताए ।
अहिलेको अवस्थामा केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत् आपूर्तिमा अवरोध हुँदा बत्ती गएको पनि शाक्यले स्पष्ट पारे । अनावश्यक रुपमा बिजुली काट्ने कुनै काम नभएको र प्राविधिक कारणले बिजुली काटिँदा लोडसेडिङ भन्न नमिल्ने पनि उनले बताए ।
अहिले नेपालको विद्युत् प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत् माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि गर्नुपर्ने कुनै सम्भावना नदेखिएको बताए ।
राष्ट्रिय विद्युत् प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोधलाई लोडसेडिङ नभन्नसमेत आग्रह गरे। तर यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम रहेको पनि बताए ।
यस्तै कोभिडका कारण विद्युत् चुहावट करिब डेढ प्रतिशतले बढेकोमा अबको आठ महिनामा यसलाई पुरानै स्थितिमा ल्याउने गरी कर्मचारी परिचालन गरिएको बताए ।
यस वर्ष साढे १४ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिए पनि गत वर्षको १५ दशमलव २७ प्रतिशतको हाराहारीमा कायम गर्न सक्षम हुनेगरी काम भइराखेको बताए ।
