‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’ भन्दै शंख फुकेर संसद विघटनको विरोध
काठमाडौं, ११ पुस : नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदशर्न गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले शंख बजाएर विरोध गरेका छन् । ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीले शंख बजाउँदै संसद विघटनको विरोध गरेका हुन्।
नेपालको संविधानमाथि प्रहार भएकोले विरोध प्रदर्शन गर्नुपरेको बृहत् नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरुले बताएका छन् । सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको भन्दै सरकारको यो कदम संसद विघटन मात्रै नभई संविधान माथिकै आक्रमण भएको उनीहरुको भनाइ छ ।
प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरुले संविधान भित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा ‘जो रक्षक उही भक्षक’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाईं नि ?’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘संविधानमाथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए ।
विरोध कार्यक्रममा माधवअधिकारकर्मी मोहना अन्सारी, लेखक युग पाठक, पत्रकार नारायण वाग्ले, अर्चना थापा, प्राध्यापक बालकृष्ण माबुहाङ लगायतले बोलेका थिए ।
बृहत नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । नागरिक अगुवाहरुले पुस १८ गतेसम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।
