प्रधानमन्त्रीको दौडधुप, राष्ट्रपति भेट्न शीतलनिवासमा प्रधानमन्त्री

काठमाडौं, ४ पुस : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहानैबाट सक्रियता बढाएका छन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटवार्ता जारी छ ।

उनीहरूबीच पछिल्लो राजनीति परिस्थितिबारे परामर्श भइरहेको शीतलनिवास स्रोतले जानकारी दियो । भेटवार्ता भर्खरै सुरु भएको हो ।

नेकपाभित्र सङ्कट गहिरिँदै गएपछि बिहान आफूनिकट नेताहरूसँग परामर्श गरेका प्रधानमन्त्री केपी शर्मा ओली मध्याह्न पार्टी अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । प्रचण्डकै आग्रहमा खुमलटार पुगेको बताइए पनि त्यहाँ ओलीले स्थायी कमिटी बैठकमा पेस भएको आरोपपत्र फिर्ता लिन आग्रह गरेका थिए ।

तर, प्रचण्ड अडानमा टसको मस नभएको स्रोतको दाबी छ । उनले कमिटीले  छलफल गरेर निचोड निकाल्ने जवाफ दिएको खुमलटार स्रोत भन्छ ।

खुमलटारबाट बाहिरिएलगत्तै ओली गृहमन्त्री रामबहादुर थापा बादल भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका थिए । त्यहाँ अरू मन्त्रीहरूसँग पनि भेट गरेर ओली फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.