देशैभरै चिसो बढ्यो, काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री

काठमाडौं, ४ पुस : केही दिनदेखि काठमाडौं उपत्यकासहित देशैभरै चिसो बढेको छ । काठमाडौंमा शनिबार बिहान शुक्रबारको तुलनामा केही तापक्रम भने बढेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन भएको छ । शुक्रबार बिहान भने १.६ डिग्री सेल्सियस मापन भएको थियो ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार शनिबार विहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियम मापन भएको छ । दिउँसो तापक्रम बढेर १८ डिग्री सेल्सियसम्म पुग्ने उनले बताइन् ।

शनिबार काठमाडौं उपत्यकाको मौसम दिनभर सफा रहने महाशाखाले अनुमान गरेको छ । अबको तीन दिनसम्मै उपत्यकाको मौसम सफा रहने भएकाले चिसो भने अझै बढ्न सक्ने अनुमान छ ।

आज बिहान तराईका अधिकांश भेगमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको नगरकोटीले बताइन् । आज तराईमा दिउँसैसम्म यस्तै रहने उनले बताइन् ।

नेपालमा हाल उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ ।

नेपालमा अहिले सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस रहेको छ भने जिरीको माइनस ३.५ डिग्री सेल्सियस रहेको छ ।

दिपायलको न्यूनतम तापक्रम ०.७ डिग्री सेल्सिय रहेको छ भने वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.८ रहेको छ । ताप्लेजुङको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.