बालुवाटार जग्गा प्रकरण : पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं, २८ मंसिर : विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउने आदेश गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका बस्न्यातलाई थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।
बस्न्यातविरुद्ध ९ करोड ६५ लाख रुपैयाँ बिगो र ८ देखि १० वर्षसम्मको कैद सजाय माग दाबी गरिएको थियो ।
विशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातको बयान भएको थियो । अख्तियारले बस्न्यातमाथि भौतिक पूर्वाधार मन्त्रालयमा सचिव रहँदा जग्गा व्यक्तिका नाममा सार्न सहयोग गरेको दाबी गर्दै कारवाहीको माग गरेको थियो । सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएका, नेपाल सरकारलाइ हानी पु¥याउन बदनियतले लिखत तयार गरेको र सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको आरोपपत्रमा उल्लेख थियो ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीनपूर्वमन्त्री र अख्तियारकै पूर्वप्रमुख बस्न्यातसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो प्रकरणमा १ सय १० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
उनलाई आजै डिल्लीबजार कारागार पठाइएको छ ।
अदालले पुर्पक्षका लागि थुनामा पठाइएका बस्नेत मुद्दाको टुंगो नलागुन्जेल जेलमा रहनुपर्ने भएको छ । अब उनले विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा अपिल गर्न सक्नेछन् । बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पनि मुद्दा खेपिरहेका छन् । उनको पनि सम्पत्ति रोक्का गरेर अनुसन्धान अघि बढाइएको छ ।
