फुटबलका मुख्य प्रशिक्षकद्वारा राजीनामा, बालगोपाल निमित्त प्रमुख प्रशिक्षक
काठमाडौं, २६ मंसिर : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।
बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए ।
हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो ।
कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए । त्यसपछि उनी नेपाल फर्किएनन् । उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।
कालीन १ मार्च २०१९ मा नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनले प्रशिक्षणमा नेपालले ११ खेल खेल्यो, जसमा एक खेल मलेसियन क्लबविरुद्ध थियो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएपछि उनी २७ मार्चमा स्वीडेन फर्किए । नेपालमा खेल गतिविधि सुरु हुँदा पनि उनी आउन सकेनन् । स्वीडेनले लगाएको यात्रा प्रतिबन्धका कारण अड्किएका उनले पदबाटै राजीनामा दिए ।
