हप्तामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिकाे सिफारिस

काठमाडौं, २५ मंसिर : सरकारी अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न गठन गरेको समितिले यस्तो सिफारिस गरेको हो ।

मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरे, अर्थ मन्त्रालयका प्रतिनिधि र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी यस्तो सिफारिस गरेको समितिका एक सदस्यले बताए

सिफारिसमा आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्चमा कतौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धिलगायत विषयमा अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको जनाइएको छ ।

मन्त्रालयले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण हुने भन्दै सातामा दुई दिन बिदा दिने प्रावधानबारे अध्ययन गर्न समिति गठन गरेको थियो ।

व्यावसायिक र व्यक्तिगत जीवनबिच सन्तुलन मिलाउन नसकेको अवस्था बढ्दो क्रममा रहेकोले सातामा दुई दिन बिदा दिँदा बालबच्चाको रेखदेख, स्याहारसुसारमा समेत पर्याप्त समय दिन नपाएको अवस्थालाई सम्बोधन गर्नुपर्ने समितिले उल्लेख गरेको छ ।

६ दिनको अवधिमा सातामा ४० घण्टा काम गर्नुपर्ने अहिलेको प्रावधानभन्दा ५ दिनको काम गरेर सातामा ४० घण्टा कार्य अवधि पुरा गर्दा कम खर्चिलो हुने तर्कसमेत समितिको छ । अहिले नेपालमा शनिवार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ ।

८५ प्रतिशतभन्दा बढी मुलुकले सातामा २ दिन बिदा दिने गरेको बताए । अध्ययन गर्दा विगतदेखि नै नेपालमा बिदाको किसिम, अन्तर्राष्ट्रिय अभ्यास, हप्तामा ४० घण्टा काम गर्ने भन्ने अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डलाई आधार मानिएको उनले बताए । “विकसित देशले सातामा ४० घण्टा र हप्तामा दुईदिन बिदा दिएर काम गर्दा उत्पादकत्व बढेको, प्रतिव्यक्ति आय बढेको, आर्थिक विकासको सूचांक राम्रै भएको देखिएको, सार्क क्षेत्रमा पनि नेपालबाहेक सबै देशले सातामा दुईदिन बिदा दिएको देखियो,” उनले भने, “आर्थिक, सामाजिक पक्षलाई हेरेर प्रारम्भिक सुझाव बनाएका छौं । त्यसमा पनि सबै सरोकारवालाहरुको सुझाव आओस् भनेर सुझावका लागि प्रतिवेदन मन्त्रालयको वेभसाइटमा राखिएको छ ।”

पर्यटन मन्त्रालयले अध्ययन गर्नुको कारण पर्यटन क्षेत्र प्रायः शिथिल भएको र तत्काल विदेशी पर्यटक आएर नेपालको पर्यटन क्षेत्रमा योगदान गरिहाल्ने अवस्था नदेखिएकाले आन्तरिक पर्यटन प्रबद्र्धन गर्न दुई दिन बिदा दिनु उपयुक्त हुने देखिएको भट्टराईले बताए । “आन्तरिक रुपमा नागरिकको हिड्डुल गर्ने प्रबृत्तिलाई प्रोत्साहन गर्ने र आन्तरिक पर्यटन प्रबद्र्धनको माध्यमबाट पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने भन्ने उद्देश्यले नै दुई दिन सार्वजनिक बिदा दिन उपयुक्त हुने गरी सिफारिस गरिएको हो,” उनले भने । सरोकारवालाहरुको सुझावको आधारमा अर्को प्रतिवेदन बनाइने उनले बताए

यस्तो छ प्रतिवेदन:

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.