सर्वदलीय बैठक : प्रधानमन्त्रीमाथि खनिए प्रतिपक्षी, प्रधानमन्त्री ओली निरीह !

काठमाडौं, २३ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी सरकारविरुद्ध खनिएका छन् । सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्माओली निरीह बनेका छन् ।

कोभिड १९ को नियन्त्रण, राजनैतिक उपलब्धिहरूको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरू बढ्दै गएपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्न बालुवाटारमा बोलाइएको बैठकमा सत्तारुढबाहेक दलका नेताहरुले सरकारकै कारण मुलुकमा अराजकता मौलाउन थालेको धारणा राखेपछि प्रधानमन्त्री निरीह बन्न पुगेका थिए । ३ घण्टा चलेको बैठकको शुरूमै प्रधानमन्त्री ओलीले छलफलका विषयवस्तुबारे प्रकाश पार्दै सहभागीहरुको धारणा मागेका थिए ।

सडकमा राजावादीहरुले राजतन्त्र माग गर्दै उत्रिन थालेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका थिए । बैठकमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलको सभापति शेरबहादुर देउवाले, राष्टिय प्रजातन्त्र पार्टी राप्रपाको नेता नेता दीपक बोहोरालगायत नेताको सहभागिता थियो ।

प्रधानमन्त्री ओलीले आफू र आफू नेतृत्वको सरकार संवेदनशील हुँदाहुँदै निराधार आरोप लगाएको गुनासो गरेका थिए । सरकारले राम्रो काम गर्दा पनि विरोधीहरुले सरकारको बदनाम गर्न खोजेका उनले बताएका थिए ।

बैठकमा प्रधानमन्त्रीले संविधानविरोधी क्रियाकलाप रोक्न सबै एक जुट हुनुपर्ने तर्क गरेका थिए ।

सरकारकै कारणले राजावादी मौलाए

प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारकै कारण सडकमा गणतन्त्र विरोधी उत्रिएको आरोप लगायो । भ्रष्टाचार बढेको, कोरोना भाइरस संक्रमण नियन्त्रणमा असफल भएको र सरकारको गतिविधिमा जनताले असन्तुष्टिको कारणले राष्टियतामाथि प्रश्न उठाएको कांग्रेसको आरोप छ ।

तर, प्रधानमन्त्री ओलीले सरकारको राम्रो कामको प्रचार नभएको भन्दै आफ्नै बचाउमा देखिएका थिए ।

सरकारी गतिविधि दमनको शैलीमा अघि बढेको भन्दै असन्तुष्ट हरुको विरोधलाई केहीले उपयोग गर्न खोजेको सहमहामन्त्री डा.प्रकाशशरण महतले बताए ।

‘प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिक विषयमा जुन प्रश्न उठेको छ, त्यसमा छलफल गर्न यहाँहरुलाई बोलाएको भन्नुभयो। सुझाव माग गर्नुभयो,’ उनले भने, ‘हामीले कांग्रेसको तर्फबाट आफ्नो कुरा राख्यौँ । कोभिडको महामारीको विषय छ, सरकार यसमा असफल भएको छ । उपचार नागरिकको स्वास्थ्य आधारभूत अधिकार हो त्यो सरकारले गर्न सकेको छैन ।’

बैठकमा कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडेल आक्रोशित भए । बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका वरिष्ठ नेता पौडेलले गत मंसिर १७ गते दमौलीमा पुल उद्घाटनको विषयमा आफूलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न ग रे।

राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएकाले जनतामा आक्रोश पोखिएको उनले बताए ।

राप्रपाको मागमा बोलेनन् कोही

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सर्वदलीय बैठक राख्न माग गरेको छ । सडकमा उठेको प्रदर्शनमा नैतिक समर्थन रहेको राप्रपा नेता दीपक बोहोराले बताए ।

‘प्रधानमन्त्रीको आह्वानका सर्वदलीय बैठक बोलाइएको थियो । बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनको बारेमा छलफल भएको थियो उनले भने, ‘संविधान बनाउँदा चौथो पात्र थियो। संविधानप्रति समर्थन छ’, उनले भने ।

राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्नेका लागि सर्वदलीय बैठकबाट छलफल गर्नुपर्ने राप्रपाको तर्फबाट प्रस्ताव भएको उनले बताए । त्यसबारे प्रधानमन्त्री ओली र अन्य दलको तर्फबाट कुनै जवाफ नआएको उनले बताए ।

सर्वदलीय बैठकमा राप्रपा नेताहरुले कोभिड नियन्त्रणमा सरकार असफल भएकाले भ्याक्सिन निःशुल्क उपलब्ध गराउनुपर्ने मागसमेत गरेको थियो ।

कसले गर्दैछ आन्दोलन ?

गणतन्त्रको विरोध गर्दै पछिल्ला केही दिनमा राजवादीको पक्षमा प्रदर्शन भइरहेको छ । स्वतन्त्र राष्ट्रवादी युवाहरुले सडकमा प्रदर्शन गरेको बताइरहेको छ ।

सडकमा भइरहेको प्रदर्शनमा राप्रपाले अधिकार जमाउन खोजेको भए पनि तर त्यो सफल हुन सकेन । तर, अहिले राप्रपाले आन्दोलनको पक्षमा नैतिक समर्थन रहेको जनाइसकेको छ।

गणतन्त्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै राजावादी सडकमा छन् । उनीहरुले राजनीतिक दलकै कारणले मुलुक गम्भीर संकटमा पुगेको तर्क गरिरहेका छन् ।

उनीहरुले देशभर गरेको प्रदर्शनमा नेकपा, कांग्रेस, राप्रपालगायत स्वतन्त्र युवाको सहभागिता रहेको जनाउँदै आएको छ ।

बैठकमा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका नेता तथा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खानाल, माधवकुमार नेपाल, वामदेव गौतम, पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री बिष्णु पौडेल सहभागी थिए । त्यस्तै काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महत सहभागी थिए । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी बैठकमा राप्रपाका नेता दिपक बोहोरा र जनमोर्चाका जनकराज शर्मा तथा नेमकिपाका प्रेम सुवाल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.