सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर
काठमाडौं, २३ मंसिर : अब सगरमाथाको उचाई ८८४८.८६ मिटर कायम भएको छ ।
विश्वकै अग्लो हिमाल सगरमाथाको उचाइ हालै नेपालले नापी गरेपछि सो कायम हुन आएको हो । फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफलपछि सगरमाथाको बढेको उचाइ मंगलबार बिशेष कार्यक्रम बीच सार्वजनिक गरिएको हो ।
यसअघि नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको थियो । नेपालले अहिलेसम्म सोहि नापलाई आधिकारिक रूपमा मान्यता दिएको थियो ।
नेपाल र चीन दुवै देशका सरकारी प्रतिनिधिहरुको भर्चुअल कार्यक्रमबाट दिउँसो पौने २ बजे औपचारिक कार्यक्रममार्फत् एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो ।
नेपालले आयोजना गर्ने कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
नेपाल र चीनका प्राविधिकहरुको, सरकारी अधिकारीहरुको संयुक्त प्रयासमा सगरमाथाको नयाँ उचाई पत्ता लागेको नेपाल सरकारले जनाएको छ । गत मंसिर १० मा मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाइ घोषणाको स्वीकृति दिएको थियो ।
नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्षअघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो । चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएका बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।
उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, चीन सरकारका परराष्ट्रमन्त्री वाङ यी दुवै देशका अधिकारीहरुको सहभागिता थियो । सगरमाथाको उत्तरी मोहडा चीन तर्फ पर्छ । चिनियाँहरु यसलाई झोमोलाङमाका नामले चिन्छन् ।
‘सगरमाथा नेपाल र चीनको सम्बन्ध विस्तारको आधार पनि बनेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘दुई देशको प्राविधिकहरुको सहकार्यमा भएको सफल कार्यको लागि बधाई भन्न चाहन्छु ।’ उनले यसले नेपाल र चीनको बलियो पारिवारिक सम्बन्धमा थप टेवा पुर्याएको पनि बताए ।
नेपाल एक चीन नीति प्रति प्रतिवद्ध रहेको पनि उनले बताए । त्यस्तै विकासमा नेपाल चीन सधैँ साझेदारी गर्ने पनि बताए । सामाजिक विकासको लागि दुई देशको मित्रताले ठूलो योगदान दिने उनको भनाई छ । परराष्ट्रमन्त्री ज्ञवालीले सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर भएको पनि बताए ।
