देशलाई फेरि हत्याहिंसातर्फ फर्काउने कोसिस हुँदैछ : प्रधानमन्त्री

काठमाडौं, २३ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोसिस भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् ।
काठमाडौंको दक्षिणमा रहेको सुवर्णकिर्ती महाविहारमा ज्येष्ठ नागरिक आवास गृहको शिलान्यासमा प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको बताए ।
मंगलबार मात्र मोरङको मिक्लागुङमा शिक्षकको हत्या भएको प्रसंग उल्लेख गर्दै उनले भनेका छन्, ‘आज मात्रै मिक्लाजुङ भन्ने ठाउँमा केही गलत तत्वहरुले हाम्रै एक जना दाजुभाइलाई अपहरण गरेर लगे, पर लगेर मारे ।’
‘एउटा हाम्रै देशको दाजुभाइलाई यदि पैसा दे भनेर डकैतीको शैलीमा भन्छ । पैसा दिन सक्दिनँ भन्यो भने घिसारेर लगेर गोली हानेर मार्छ, नेपाल यस्तै खालको विकराल कालखण्ड पार गरेर आएको छ, अब फेरि त्यता फर्काउने प्रयास हुन खोजेको छ ।’
पछिल्लो समय समाज दिग्भ्रमित भएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेशलाई इमानदारिताका साथ पालना गर्न आग्रह गरे । साथै आफ्नो सरकारले यस्ता गतिविधि हुन नदिनेतर्फ सचेत रहेको पनि बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा अहिले राजनीतिक समस्या निम्त्याउन खोजिएको पनि बताए । राजनीतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भए पनि सफल नहुने उनको भनाइ थियो ।
बुद्धका उपदेशले नै संसारमा मैत्री, करुणा र भाइचारा सम्बन्ध स्थापित भएको उनले त्यहाँ बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले ज्येष्ठ नागरिक भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
