उपत्यकामा ५९४ सहित थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं, २३ मंसिर : पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । संक्रमितमध्ये महिला ८४ हजार १५५ र पुरुष १ लाख ५९ हजार २२२ जना रहेका छन् । प्रतिशतका आधारमा महिला ३४.५ र पुरुष ६६.५ प्रतिशत रहेका छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५९४ मा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ४ सय १२, भक्तपुरमा ६९ र ललितपुरमा ३३ जनामा कोरोना पुष्टि भएको हो। महिला २ सय ६३ र पुरुष ३ सय ३१ छन् ।
उपत्यकामा सक्रिय संक्रमित ६ हजार ३ सय १९ छन् ।
काठमाडौंमा सक्रिय संक्रमित ४८ सय ७७, संक्रमणमुक्त ८५ हजार ८ सय ८३, मृत्यु ४ सय २४ र कुल संक्रमित ९१ हजार १८४ छन् । भक्तपुरमा सक्रिय संक्रमित ४५०, संक्रमणमुक्त ७ हजार ७५१, मृत्यु ९६ र कुल संक्रमित ८ हजार २९७ छन् ।
त्यसैगरी, ललितपुरमा सक्रिय संक्रमित ९९२, संक्रमणमुक्त १२ हजार ९ सय, मृत्यु १२५ र कुल संक्रमित १४ हजार १७ छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६२१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ । नेपालमा कोरोनाभाइरस निको हुने दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५ सय २३ जना रहेको मन्त्रालयले जनाएको छ ।
हाल काठमाडौं, कास्की र ललितपुरमा मात्रै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका हुन् । यस्तै हाल मनाङ र डोल्पामा एक जना पनि संक्रमित रहेका छैनन् ।
त्यस्तै, आज थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १६ सय ३७ पुगेको छ ।
