साझा प्रस्ताव ल्याउन गरिएको आग्रह प्रचण्डद्वारा अस्वीकार
काठमाडौं, १९ मंसिर : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहमतिमा साझा प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।
दुई अध्यक्षले फरक फरक प्रस्ताव पेश गरेको अवस्थामा त्यसलाई साझा बनाउन गरेको आग्रहलाई दाहालले अस्वीकार गरेका छन् । उपप्रधानमन्त्री इश्वर पोखरेल शुक्रबार बिहान दाहाल निवास खुमलटार गएर अध्यक्ष प्रचण्डलाई भेटेका थिए । भेटका क्रममा पोखरेलले गरेको आग्रहलाई अस्वीकार गरेको खुमलटार स्रोतले जनाएको छ ।
भेटमा अध्यक्ष दाहालले दुवै पक्षबाट आ-आफ्नो प्रस्ताव आइसकेको हुनाले त्यसैमा छलफल गरेर अघि बढ्नुपर्ने जवाफ दिएको पनि खुमलटार स्रोतले जनाएको छ ।
नेकपाको विवादका क्रममा गत कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रस्ताव पेश गरेका थिए । अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले त्यसलाई आरोप पत्रको संज्ञा दिदै त्यसको प्रत्युत्तर प्रधानमन्त्री ओलीले मंसिर १३ गतेको सचिवालयमा जवाफ लिखित रुपमै दिइसकेका छन् ।
दाहालले ल्याएको प्रस्तावमा मंसिर १६ गतेबाट छलफल सुरु गरे पनि त्यसपछिको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन् । ओलीले दाहालको प्रस्ताव एकपक्षीय र आरोपको पुलिन्दा भएको बताउदै आएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमै बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि १७ गते अध्यक्ष दाहालले राखेको बैठकले २० गतेका लागि सचिवालय र २१ गते स्थायी कमिटीको बैठक राख्ने निर्णय गर्यो ।
एकता पक्षधर कतिपय नेता दुवै प्रस्तावलाई समेटेर नयाँ प्रस्तावबाट अघि बढ्नुपर्ने पक्षमा रहेका छन् । तर, हाल सचिवालयका बहुमत सदस्य सचिवालयमा दुवै पक्षबाट प्रस्ताव आइसकेको हुनाले छलफल गर्नुपर्ने पक्षमा देखिएका छन् । सचिवालयमा दाहाल-नेपाल पक्षको बहुमत छ ।
पार्टीको विवाद चर्किँदै जाँदा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच संवाद ठप्प छ । अध्यक्ष दाहालसँगको संवाद रोकिएपछि प्रधानमन्त्रीनिकट नेताहरु खुमलटार धाइरहेका छन् ।
बिहीबार प्रधानमन्त्री ओलीनिकट महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग खुमलटारमा छुट्टाछुट्टै छलफल गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री पोखरेल खुमलटार पुगेका हुन् ।
